१२ साउन २०८२, आइतबार 27 Jul 2025, Sunday

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः सक्रिय राजनीतिमा फर्किईन्

|
Nepali Reporter
१४ असार २०८२, शनिबार

काठमाडौँ । नेकपा एमालेकी पूर्व उपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा पुनः फर्किएकी छन्। जननेता मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले एमालेबाट आफ्नो राजनीतिक यात्रा पुनः सुरु गर्ने उद्देश्यसहित पार्टी सदस्यता नवीकरण गरेको सार्वजनिक गर्दै राजनीतिमा सक्रिय रुपमा फर्किएको घोषणा गरिन्।

उनले भनिन्, “अलग ढंगको जिम्मेवारीबाट मुक्त भएपछि अब पुनः नेकपा एमालेमा रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यले सदस्यता नवीकरण गरेकी हुँ। अब म फेरि एमाले परिवारको सदस्य बनेकोमा गर्व गर्छु।”

भण्डारीले आफ्नो पुनरागमन कुनै ठूलो व्यक्तिगत महत्त्वाकांक्षा नभएको स्पष्ट पारिन्। उनले देश र जनताको हितलाई नै आफ्नो मुख्य लक्ष्य भएको बताउँदै, मदन भण्डारीले भनेझैँ “जनता भगवान हुन्” भन्ने भनाइलाई स्मरण गरिन् र राजनीतिमा थकाई नहुने कुरा पुनः दोहोराइन्।

राजनीतिक जीवनमा धेरै उतारचढाव भोगेको उल्लेख गर्दै उनले यसले आफूलाई धेरै सिकाएको र परिपक्व बनाएको बताइन्।

राष्ट्रपतिका रूपमा दुई कार्यकाल बिताएपछि २०७९ सालमा शीतल निवासबाट निजी निवास फर्केकी भण्डारी त्यसपछि देशका विभिन्न स्थान र चीन भ्रमणसमेत गरिन्। विगत दुई वर्षयता उनले एमालेका नेता तथा कार्यकर्ताको भावना बुझ्न समय खर्चिएको बताइन्छ। लामो विचार-विमर्शपछि अब उनी एमालेको औपचारिक राजनीतिक भूमिकामा फर्किएको घोषणा गरिन्।

उनको पुनरागमनले एमालेभित्र लामो समयदेखि उपेक्षित महसुस गरिरहेका कतिपय कार्यकर्तालाई उत्साह दिएको छ।

यसबिच, एमालेभित्र ७० वर्षे उमेर हद र दुई कार्यकालको सिमालाई लिएर चलिरहेको बहसकै बीच विद्याको सक्रियताले भविष्यको नेतृत्वसँग पनि जोडिएर हेरिन थालेको छ। अब पार्टीले उनलाई कुन जिम्मेवारी दिने भन्नेबारे चासो बढेको छ।

तर पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रमको पूर्वसन्ध्यामा भण्डारीको भूमिकालाई लिएर अनावश्यक अपेक्षा नगर्न आग्रह गर्दै एमालेभित्र कुनै 'बम बारुद' पड्कने कुरा नभएको प्रतिक्रिया दिएका थिए।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विद्याको पुनरागमनलाई स्वाभाविक र राजनीतिक धर्मको रूपमा व्याख्या गर्दै जिम्मेवारी सल्लाह र समझदारीमा तय हुने बताएका छन्।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि पार्टीले भण्डारीको पुनरागमनलाई स्वागत गर्ने बताए। उनले नेतृत्वको विषयमा भने अहिले पार्टीभित्र कुनै औपचारिक छलफल नभएको स्पष्ट पारे।

गौतमले भदौ २०–२२ मा हुने दोस्रो विधान महाधिवेशनबाट पार्टी संरचना र नेतृत्वको टुंगो लाग्ने जानकारी दिए।

प्रकाशित : १४ असार २०८२, शनिबार 22:32

थप समाचार

No related news found based on tags.

Copyright © 2024 -2025. Hami Ek Nepali. All Rights Reserved